क्रिप्टोकरेन्सीले भुक्तानीसम्बन्धी कार्यलाई सरल बनाउँछ कि बनाउँदैन ?

क्रिप्टोकरेन्सीले भुक्तानीसम्बन्धी कार्यलाई सरल नबनाई जटिल बनाउँछ । सार्वभौम मुलुकले एकरूपता भएका (स्तरीय) मुद्रा निष्कासन गर्नुपूर्व निजी क्षेत्रबाट एकरूपता नभएका विभिन्न वस्तु/धातु तथा कागजातले मुद्राको कार्य गर्दथ्यो । त्यस्ता निजी मुद्राहरु आम सर्वसाधारणमा स्वीकार्य नभए तापनि कुनै निश्चित वर्ग वा समुदायमा मात्र स्वीकार्य हुन्थ्यो र मुलतः वस्तु विनिमय व्यवस्थामा जस्तै Medium of Exchange को कार्य गर्न सरलता हुँदैनथ्यो । हाल विश्वमा करिब २३,००० प्रकारका क्रिप्टोकरेन्सीहरु प्रचलनमा रहेको हुँदा नेपाली रुपैयाँ जस्तो नेपालभित्र सर्व–स्वीकार्य मुद्राले गर्ने भुक्तानी तथा फर्छ्यौटको तुलनामा क्रिप्टोकरेन्सीबाट भुक्तानीसम्बन्धी कार्य जटिल हुन जान्छ ।
साथै, मुद्रास्फीतिले केही हदसम्म असर गरे तापनि सार्वभौम मुलुकहरुले जारी गर्ने मुद्राले Store of Value को कार्यसमेत गर्दछ । जसअन्तर्गत आफूलाई वर्तमान समयमा कुनै वस्तु तथा सेवा खरिद गर्न आवश्यक नभएमा भविष्यमा वस्तु तथा सेवा खरिद गर्न सकिन्छ । तर, क्रिप्टोकरेन्सीको मूल्य विशुद्ध रूपमा बजारको माग र आपूर्तिमा मात्र निर्भर हुने तथा धेरै नै उतारचढावपूर्ण हुने भएकाले क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आई भविष्यमा कुनै पनि वस्तु तथा सेवा खरिद गर्न नसक्नेसमेत हुन सक्छ ।