‘रेगुलेटरी स्यान्डबक्स’ भन्नाले प्रविधिमा आधारित फिनटेक नवप्रवर्तन (Fintech Innovation) लाई नियामकले तोकेको Parameters, Controls तथा Conditions मा वास्तविक ग्राहकसमक्ष निश्चित समयावधिका लागि परीक्षण गर्ने वातावरण हो । फिनटेक नवप्रवर्तन तीव्र रूपमा विस्तार भइरहेको परिप्रेक्ष्यमा विद्यमान नियामकीय (Regulatory) व्यवस्थामा त्यस्ता नवप्रवर्तनको नियमन तथा सुपरिवेक्षणसम्बन्धी व्यवस्था नभएको वा नियामकीय अस्पष्टता रहेको अवस्थामा फिनटेक नवप्रवर्तनलाई आवश्यक नियामकीय छुट (Regulatory Relaxations) प्रदान गरी वास्तविक ग्राहकसमक्ष परीक्षण गर्ने वातावरण रेगुलेटरी स्यान्डबक्सले सिर्जना गर्छ ।
रेगुलेटरी स्यान्डबक्स मुख्यत: दुई प्रकारका हुन्छन्: Open Window स्यान्डबक्स र Thematic/Cohort मा आधारित स्यान्डबक्स । Open Window स्यान्डबक्समा सहभागी आबद्ध गराउन कुनै निश्चित समयावधि तोकिएको हुँदैन र परीक्षणका लागि योग्य नवप्रवर्तनसहित आवेदन पेस गर्ने नवप्रवर्तकलाई नियामकले परीक्षणका लागि सहभागीको रूपमा स्वीकार गर्न सक्छ । Thematic/Cohort स्यान्डबक्समा निश्चित समयका लागि आवेदन आह्वान गरिन्छ र प्राप्त आवेदनबाट छनोट गरिएका सहभागीले तोकिएको समयसम्म स्यान्डबक्स परीक्षण गर्ने अवसर प्राप्त गर्छन् ।