वित्तीय जानकारी इकाई र भन्सार विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी एवम् आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी विरुद्धका क्षेत्रमा सूचना आदान प्रदान गर्ने उद्देश्यले मिति २०७७/१०/०८ गते वित्तीय जानकारी इकाई र भन्सार विभाग बीच समझदारी पत्रमा हस्ताक्षर भयो । उक्त समझदारी पत्रमा भन्सार विभागको तर्फबाट विभागका महानिर्देशक श्री सुमन दाहाल र वित्तीय जानकारी इकाईको तर्फबाट इकाई प्रमुख श्री दीर्घ बहादुर रावलले हस्ताक्षर गर्नु भयो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को परिच्छेद ६क तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०७३ को नियम ४६ बमोजिम मुद्रा तथा धारक विनिमय अधिकारपत्रको विवरण प्रवाह लगायत सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी एवम् आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी (प्रोलिफरेशन फाइनान्सिङ्ग) विरुद्ध लड्ने उद्देश्यले गरिएको समझदारीले मुलुकमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विभागले उक्त ऐनको दफा २९क. बमोजिम उद्घोषण भएको वा सोही ऐनको दफा २९ख. बमोजिम सोधपुछ, जफत तथा सजाय गरिएको मुद्रा तथा धारक विनिमय अधिकारपत्र सम्बन्धी विवरण भन्सार कार्यालयहरुलाई निर्दिष्ट ढांचामा भर्न लगाई वित्तीय जानकारी इकाईमा पठाउने वा भन्सार कार्यालयले सिधै इकाईलाई पठाउन आवश्यक व्यवस्था गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । साथै, भन्सार विभाग वा अन्तर्गतका कार्यालयहरुले प्रचलित कानुन बमोजिम अनुसन्धान गर्नुपर्ने विषयमा आवश्यक सूचना माग गरेमा वित्तीय जानकारी इकाइले सूचना उपलव्ध गराउने विषय समझदारीपत्रमा उल्लेख भएको छ ।

समझदारीपत्रमा उल्लेख भएका एवम् सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीका अन्य विषयमा आपसी सहयोग र समन्वय गर्नका लागि भन्सार विभागको अनुसन्धान तथा अनुपालन शाखाका निर्देशकको संयोजकत्वमा उप–निर्देशक वित्तीय जानकारी इकाई– सदस्य, सहायक निर्देशक वित्तीय जानकारी इकाई– सदस्य र शाखा अधिकृत अनुगमन शाखा भन्सार विभाग– सदस्य रहने गरी एक समन्वय समिति गठन गरिने व्यवस्था समेत समझदारी पत्रमा समावेश गरिएको छ ।