क्रिप्टोकरेन्सी कुन प्रविधिमा आधारित छ ?

वित्तीय मध्यस्थकर्ता (मुद्रा निष्कासन गर्ने केन्द्रीय बैंक वा मौद्रिक अधिकारी) विनै भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेगरी क्रिप्टोकरेन्सी जारी हुने गर्दछ । उक्त कार्य गर्न क्रिप्टोकरेन्सीको प्राप्ति तथा खर्चको हिसाब–किताब नेटवर्कमा आबद्ध सम्पूर्ण प्रयोगकर्ताले राख्नु पर्नेहुन्छ (जुन विद्यमान व्यवस्थामा केन्द्रीय बैंक वा बैंक तथा वित्तीय संस्थाले राख्ने गर्दछ) । नेटवर्कमा आबद्ध सम्पूर्ण प्रयोगकर्ताहरुले हिसाब–किताब राख्ने कार्यमा Blockchain वा Distributed Ledger प्रविधिको प्रयोग गरिएको हुन्छ ।
Blockchain वा Distributed Ledger प्रविधिमा कुनै पनि कारोबार भएमा उक्त कारोबारलाई नेटवर्कमा आबद्ध सम्पूर्ण कम्प्यूटरलाई जानकारी गराइन्छ । त्यस्तो नयाँ कारोबारको समूह (जसलाई ब्लकसमेत भनिन्छ) लाई कुनै तोकिएको सामूहिक सहमतिको माध्यममार्फत यकिन गरिन्छ र त्यस्तो यकिन गरिएको ब्लकलाई सो पूर्वका अन्य ब्लकहरुसँग क्रमबद्ध गरिन्छ । प्रत्येक नयाँ ब्लकलाई अघिल्लो ब्लकसँग आबद्ध गरिने हुँदा आफूसँग नभएको रकम खर्च गर्न वा आफूसँग भएको कुनै रकम खर्च गरेपछि पुनः खर्च गर्न नसकिने गरी क्रिप्टोकरेन्सीलाई डिजाइन गरिएको पाइन्छ ।